चितवन – भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो ।
महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तरराष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिँदै छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ ।
त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण वर्षमा नेपाल आउन आग्रह गरिएको छ । यससँगै काम गर्ने साथीहरुलाई भरतपुर ल्याउन ‘एक जना साथी भरतपुर ल्याउँ’ अभियान थालिएको छ । आफू काम गर्ने संस्थाका प्रमुख वा अन्य व्यक्तिहरुलाई समेत निम्तो दिएर भ्रमण वर्षमा यहाँ ल्याउन आग्रह गरिएको सापकोटाले बताउनुभयो ।
उहाँहरुमार्फत नै स्थानीय सरकारसँगै विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर पर्यटकलाई भरतपुर भ्रमण गर्न पठाउन आग्रह गरिएको छ । नेपालीहरुले सञ्चालन गरेका होटल, रेष्टुरेन्ट, पसलहरुमा भ्रमण वर्षका पोष्टर राख्न, भ्रमण वर्षसम्बन्धी तयार गरिएका डिजिटल सामग्री प्रसारण गर्न आग्रह गरिएको छ ।
यसैगरी राजदूतावासहरुमा भ्रमण वर्षसम्बन्धी पोष्टर, पम्प्लेट जस्ता सामग्री राखिँदै छ । सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घका अध्यक्षहरुलाई सल्लाहकार बनाएर भ्रमण वर्षमा अधिकतम पर्यटक भरतपुर भित्र्याउने योजना बनाइएको छ ।
गैरआवासीय नेपाली सङ्घको सम्मेलनको पूर्वसन्ध्यामा अक्टोबर १४ तारेखमा भरतपुरमा अन्तरराष्ट्रिय समन्वय समिति चितवन समाजको सम्मेलन हुँदैछ । यसले विदेशमा रहेका नेपालीहरुलाई भ्रमण वर्षमा यहाँ आमन्त्रण गर्न र योजना बनाउन सहज हुने भएको छ । विश्वमा एक सय १२ भन्दा बढी देशमा नेपाली रहेका छन् ।
महानगर प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत विदेशमा रहेका भरतपुरवासी, चितवनवासी र समग्र नेपालीलाई भ्रमण वर्षमा निम्तो दिन लागिएको बताउनुभयो । यसैगरी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घमार्फत विश्वभर भ्रमण वर्षको प्रचारको काम गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । आफूहरु विदेश भ्रमणमा जाँदा भेटिएका त्यहाँका अधिकारीहरुलाई मौखिक रुपमा निम्तो दिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । आन्तरिक र बाह्य पर्यटकलाई आमन्त्रणसँगै पर्यटकको बसाइँ लम्ब्याउन महानगरपालिकाले नयाँ गन्तव्यको खोजीसँगै तयारी तीव्र रुपमा अघि बढाएको छ ।